समाचार
परिचय
दोर्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । वि.स. २०७३ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको (१-८) वडाहरु¸ भार्ते¸ अर्चलबोट¸ श्रीमञ्जाङ¸ नौथर¸ पाचोक¸ ढोडेनी¸ फलेनी र बन्सार गाउँ विकास समितिहरुलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो । दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८¸३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दुधपोखरी गाउँपालिका¸ पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका¸ उत्तरमा मर्स्याङ्दी गाउँपालिका रहेका छन् ।
जैविक विविधताले भरिपूर्ण यो गाउँपालिका¸ समुन्द्र सतहबाट न्युनतम ३८५ मिटर उचाईदेखि ८२६२ मिटर अग्लो मनास्लु हिमशिखर सम्म फैलिएको छ । भौगोलिक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरुप फरक फरक छन् । अत्यन्त गर्मी हावापानीदेखि अति ठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो ठाउँ निकै प्रसिद्ध छ । धेरैजसो पहाडी भुभाग रहेको यस गाउँपालिकामा नदी किनारका समतल मैदान एवं टारहरु¸ खोंच तथा वेसी रहेका छन् ।
प्रकृतिको सुन्दर बगैँचा नेपाल- यसै त स्वर्गभन्दा कम छैन । जहाँ रहेका छन् अनुपम सुन्दरताले भरिपूर्ण सम्पदाहरु¸ सुन्दर मोतिका मालाझैँ मुस्कुराउँदा हिमालहरु¸ नदि¸ ताल¸तलैया तथा हराभरा अग्ला होचा कहि चुच्चो त कहि समथर परेका पहाड उपत्यकाहरु । विश्वमै अतुलनिय प्राकृतिक सम्पदा¸ जैविक विविधता¸ किर्तिमानीको लागि चुनौतीपूर्ण भूगोल¸ साहसिक पर्यटन लगायतका विशेषताका कारण आफ्नो छुट्टै गरिमा स्थापित गरेको मानचित्रमा मध्य क्षेत्रको प्रदेश नं. ४ अन्तर्गत राजधानी काठमाडौँको उत्तरी-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित लमजुङ जिल्लाको लगभग विच भागमा रहेको सुन्दर गाउँको नाम हो दोर्दी । दोर्दी गाउँपालिका धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित¸ हिन्दु र बौद्ध पावनभूमी¸ पवित्र कृष्णगण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृश्य भएको पर्यटकका लागि मनोमोहक एवं सुन्दर गाउँ हो ।


